धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष अमेरिका प्रस्थान

  साउन ६, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज दिउँसो आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघका अध्यक्ष सी.वी. गहतराजज्यू अमेरिकी सरकारको धार्मिक स्वतन्त्रता तथा मामिला मन्त्रीको निमन्त्रणमा मन्त्रीस्तरीय अन्तराष्ट्रिय कार्यक्रममा अल्पसंख्यक नेपाली समुदायको प्रतिनिधि गर्दै अमेरिका भ्रमण गर्न लाग्नु भएको कुराको जानकारी गराइएको छ । दुई सय भन्दा बढी राष्ट्रका सरकारी प्रतिनिधिहरु, मानव अधिकारकर्मीहरु, अल्पसंख्यक धार्मिक समुदायका प्रतिनिधिहरु लगायत सहभागी हुने सो कार्यक्रममा नेपालमा रहेका अल्पसंख्यक धार्मिक समुदायका हकहित र अधिकारको पक्षमा आफूले बोल्ने कुरा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा विभिन्न उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले महासंघ समस्त ख्रीष्टियन समुदायको हकहितका लागि काम गर्दै गरेको र आगामी दिनमा जस्तो सुकै परिस्थितिको सामना गर्नु परे पनि समुदायको हितमा काम गरिरहने कुरा उहाँले बताउनुभएको थियो । उहाँ अमेरिकामा आयोजना गरिएको सो कार्यक्रममा सहभागी हुन आजै बेलुकी अमेरिकातिर प्रस्थान गर्दै हुनुहुन्छ । महासंघका उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजुज्यूले सो पत्रकार सम्मेलनको कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कोषाध्यक्ष पा. धन बहादुर थापा (आमेन) ज्यूको प्रार्थनाबाट शुरु भएको पत्रकार सम्मेलनमा सचिव पा. उद्धव चिमोरियाज्यूले सबैलाई स्वागत गर्नु भयो भने अन्तिम आशिषको प्रार्थना सह–अध्यक्ष पा. तेजमान तामाङज्यूले गर्नुभएको थियो । सो पत्रकार सम्मेलनमा महासंघका सहअध्यक्षज्यूहरु, उपाध्यक्षज्यूहरु, दुबै जना उपमहासचिवज्यू, सचिवज्यूहरु, कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो  

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd