धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

साप्ताहिक प्रार्थना सम्पन्न

०५ चैत्र २०७६ । नेपाल राष्ट्रको लागि साप्ताहिक प्रार्थना महासंघको नयाँ कार्यालय भवन भनिमण्डलमा आज बुधबार सम्पन्न भएको छ । विभिन्न मण्डलीहरुको पाष्टर, अगुवा तथा विश्वासीहरुको सहभागीतामा प्रत्येक हप्ता हुने साप्ताहिक प्रार्थनामा विशेष गरि कोरोना भाइरस सङ्क्रमित राष्ट्रहरूको निम्ति विशेष प्रार्थना भएको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सि.बि. गहतराजले मर्कूस १६ः१६–१८ को पदलाई याद गर्दै उहाँले येशू प्रभुमा भरोसा गर्नेहरुले कुनै कुरामा डर मान्नु नपर्ने बताउनुभयो । परमेश्वरले हरेक कमजोरी र समस्यामा विजय दिनु भएको बताउँदै कोरोना भाइरसको कारण डर र त्रासमा बस्नुभन्दा स्वास्थ्य संयमता अपनाएर प्रार्थना सहित ढुक्क संग बस्न आग्रह गर्नुभयो ।

उहाँले भन्नु भयो, प्रार्थना गर्दा हामीले शंकानगरी परमेश्वरमा प्रार्थना गर्नु पर्दछ साथै कुनै कुरामा पनि हामी विचलित हुनुहुँदैन, हामीले येशू ख्रीष्टको नाउँमा प्रार्थना गर्दछौं भने हामीलाई सबै कुरामा परमेश्वरले विजय दिनु हुन्छ। प्रार्थना सभामा वचन बोल्दै अध्यक्ष गहतराजले सरकारले सामूहिक भेला र सभाहरूमा बन्देज लगाएपनि यो समयमा हामी नेपाली मण्डलीहरुले उपवास सहित प्रार्थनामा सहभागी भएर कोरोना भाइरसको सङ्क्रमण हरेक राष्ट्रबाट निर्मूल हुन सकोस् र नेपाल प्रवेश गर्न नसकोस् भनी सबै मिलेर प्रार्थना गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

प्रार्थना सभामा महासंघका कर्मचारी सुजन रिजालले स्तुती प्रशंसा र आराधनामा अगुवाई गर्नुभयो । प्रार्थनाको अगुवाइ उप–महासचिव तथा प्रवक्ता रेभ.पा.उद्धव चिमोरीयाले गर्नु भएको थियो । कार्यक्रमको संचालन सह–सचिव चित्र रेखा ओझले गर्नु भएको थियो । महासंघले सम्पूर्ण नेपाली मण्डलीहरुले यो समयमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय लगायत विभिन्न निकायबाट आएको सूचना र अनुरोधलाई साथ दिँदै भेला, कार्यक्रम तथा सभाहरुको आयोजना नगर्न सबैमा आग्रह गरेको छ ।

           

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd