धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

साधारण-सभा तथा अधिवेशन-२०७७ भव्यताका साथ सम्पन्न

 

२०७७ साल माघ २० गते मंगलबारका दिन राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल, जिल्ला कार्य समिति रुपन्देहीले आफ्नो साधारण-सभा तथा अधिवेशन-२०७७ पा. सुरज थापाको सभापतित्वमा केन्द्रीय सह-अध्यक्ष तथा संगठन विभाग प्रमुख तथा लुम्बिनी प्रदेश प्रमुख पा. टेक विक्रम हिताङको प्रमुख आतित्थ्य, अतिथि वक्ता पा. भरत जी.सी., विशिष्ठ अतिथिको आसनमा छिमेकी जिल्लाबाट पाल्नुहुने तथा विभिन्न समाजका अध्यक्ष तथा प्रतिनिधिहरू, अतिथिहरू, पाष्टर-अगुवाहरू तथा विश्वासीहरूको उत्साहजनक उपस्थितिका बीच भैरहवा आनन्द मण्डली, सिद्धार्थनगर, भैरहवामा भव्यताका साथ सम्पन्न गरेको छ । जिल्ला ख्रीष्टियन समुदाय रुपन्देही, दिदीबहिनी संगतिका अध्यक्ष ललिता जी.सी.को प्रार्थनाद्वारा शुरू भएको उक्त कार्यक्रमका सञ्चालन सचिव पा. अशोक शाक्यले गर्नुभएको थियो ।

 

अतिथि तथा वक्ता पा. भरत जी.सी.ले यहोशू ७:१०-१२ पदबाट परमेश्वरको आशिषित वचन बाड्नुहुँदै उहाँले भन्नुभयो कि जब इज्राएलीहरू यरीहो शहर विजय गर्दा त्यहाँ भएका सबैथोक नष्ट गर्नुपर्नेथ्यो, तर ती इज्राएलीहरू मध्ये एकजना आकान लोभमा परी तीन कुराहरू बेबिलोनिया देशको असल ओढ्ने (मान सम्मान), २ सय शेकेलको चाँदी (पद) र सुनको एक डण्डा (अधिकार) लुकाएर पाप गरेको हुनाले सबै इज्राएलीहरूले त्यसले गरेको पापको दण्ड भोग्नु परेको थियो । त्यस्तैगरी पाष्टर-अगुवाज्यूहरूले माथिको घटनाबाट पाठ सिक्दै प्रार्थनासाथ निस्वार्थ रूपले उहाँको सेवामा लागिरहनुपर्ने कुरा व्यक्त गर्नुभयो ।

 

त्यस्तैगरी अध्यक्ष सुरज थापाज्यूले यो महासंघको उद्देश्य चर्च निर्माण गर्नु, पाष्टरलाई सपोर्ट गर्नु, सेमिनार गर्नु, आत्मिकी सभा-सम्मेलन गर्नु, बाइबलीय तालिम दिनु, बाइबल स्कुल सञ्चालन गर्नु आदि नभई कुनै पनि ख्रीष्टियन माथि धर्मको नाममा आइपर्ने सतावटको पैरवी गर्ने, हक अधिकारको लागि आवाज उठाउने आदि जस्ता कार्य गर्नका लागि स्थापित भएको यो संस्था हो भनी संक्षेपमा परिचय दिनुभयो ।

तिलोत्तमा इसाई समाजका अध्यक्ष पा. मदन क्षेत्रीले प्रस्थान १४ अध्यायमा मोशाको विरोध गर्नेहरूलाई मोशाले कसैलाई पनि भेदभाव नगरी समान रूपले एक अभिभावकको भूमिकामा इमान्दारीका साथ अगुवाई गरेको चर्चा गर्नुहुँदै राष्ट्रिय ख्रीष्टियन महासंघ पनि सबै ख्रीष्टियनहरूको अभिभावक भएकोले मोशाले जस्तै भूमिका निभाउनु पर्ने भन्दै महासंघलाई आफ्नो, मण्डलीको र तिलोत्तमा इसाई समाजको सदैव साथ र समर्थन रहने प्रतिवद्धता गर्नुहुँदै उन्नति र प्रगतिको कामना गर्नुहुँदै शुभकामना दिनुभयो । त्यस्तैगरी शुभकामना मन्तव्य राख्ने क्रममा देवदह इसाई समाजका अध्यक्ष पा. हेमन्त बर्देवाले आफूले महासंघलाई नजीकबाट चिनेको र यसले गरेको कामको चर्चा गर्दै यसको प्रशंसा गर्नुपर्ने र धन्यवाद दिनुपर्ने भन्दै यस महासंघप्रति आफ्नो पूर्णसाथ र समर्थन रहेको बताउनुभयो ।

 

अध्यक्ष पा. सुरज थापाले महासंघमा आवद्ध हुने नयाँ मण्डलीहरूलाई आवद्धताको प्रमाण-पत्र प्रदान गर्नुहुँदै कमिटि विघटन भएको घोषणा गर्नुभयो । नवनिर्वाचित पदाधिकारीहरूको नामावली यसप्रकार छ- अध्यक्ष पा. गोपी हिमडुङ, उपाध्यक्ष ए. प्रेम क्षेत्री, सचिव अ. विश्व शाक्य, सह-सचिव पा. पृथ्वी थापा, कोषाध्यक्ष पा. सुनिल पौडेल, सह-कोषाध्यक्ष अ. दिपकराज कुँवर, सदस्यहरूमा पा. जीवन महर्जन, पा. शेर बहादुर सारु, पा. चन्द्र रामदाम, अ. मन बहादुर कुमाल, हेम जी.आर. रहनुभएको छ भने सल्लाहकारहरूमा केन्द्रीय सह-अध्यक्ष तथा संगठन विभाग प्रमुख तथा लुम्बिनी प्रदेश प्रमुख पा. टेक विक्रम हिताङ, मन पाण्डे, पा. भरत जी. सी., पा. सुरज थापा, पा. रुप घिमिरे, पा. अशोक शाक्य तथा पा. जीवन कौशल रहनुभएको छ । नवगठीत कार्य समितिलाई शुभकामना तथा वधाई दिदै जिल्ला ख्रीष्टियन समुदाय रुपन्देहीका महासचिव ए. मेघराज घिमिरेले राष्ट्रिय ख्रीष्टियन महासंघ हाम्रो शीरको टोपी भएको र नवगठित कार्य समितिले शीरको टोपीझैं उच्च स्थानमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै केन्द्रीय सह-अध्यक्ष तथा संगठन विभाग प्रमुख तथा लुम्बिनी प्रदेश प्रमुख पा. टेक विक्रम हिताङज्यूले यो महासंघ अरू संघ-संस्थाहरू भन्दा अलग उद्देश्य लिई स्थापित भएको हो र यसले सम्पूर्ण नेपाली ख्रीष्टियनहरूको प्रतिनिधित्व गर्दै सतावट, खेदोको विरूद्धमा आवाज बुलन्द गर्ने, पैरवी गर्ने, नेपाल सरकारसँग ख्रीष्टियनहरूको समस्याको बारेमा कुरा उठाउनका लागि स्थापना भएको हो । नेपाल सरकारसँग ३ बुँदे र ६ बुँदे सम्झौता भएको र त्यो नेपाली ख्रीष्टियनहरूको लागि लालपूर्जा भएको कुरा व्यक्त गर्नुहुँदै यसको कार्यान्वयनका लागि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रीष्टियनहरू एकजुट भएर लाग्नुपर्ने र यसको कार्यान्वयन भएमा सम्पूर्ण नेपाली ख्रीष्टियनहरूको हक, अधिकार स्थापित हुने कुरा व्यक्त गर्नुभयो । यसको कामलाई अझ सशक्त रुपमा अघि बढाउनका लागि विभिन्न देशहरूमा सद्भावदूतहरू पनि खडा गरिएको कुराको जानकारी गराउँदै नवगठीत पदाधिकारीहरूलाई वधाई तथा शुभकामना दिनुभयो, र आफ्नो पूर्णसाथ र समर्थन रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

सभापतिको आसनबाट बोल्नुहुँदै अध्यक्ष पा. सुरज थापाले कार्यक्रम सम्पन्न गर्न खटिनुहुने सम्पूर्ण टिमलाई धन्यवाद दिनुहुँदै नवगठीत पदाधिकारीहरूलाई वधाई तथा शुभकामना दिनुभयो, यसका साथै प्रमुख अतिथि, अतिथि तथा वक्ता, विशिष्ठ अतिथि, अतिथि लगायत सबैलाई कार्यक्रममा उपस्थित भई सफलताका साथ सम्पन्न हुन सहयोग पुर्याउनु भएकोमा धन्यवाद दिनुभयो र अन्तिम प्रार्थना गरी कार्यक्रम समापनको घोषणा गर्नुभयो । उक्त कार्यक्रममा विघटित कमिटिका सदस्यहरूलाई प्रशंसा-पत्र र नवनियुक्त अध्यक्षलाई ओहोदाको प्रमाण-पत्र केन्द्रीय सह-अध्यक्ष तथा संगठन विभाग प्रमुख तथा लुम्बिनी प्रदेश प्रमुख पा. टेक विक्रम हिताङको हातबाट प्रदान गरिएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd