धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सरकारको अलोकतान्त्रिक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको छ: महासंघ

पौष १३, २०७६ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सरकारले ख्रीष्टियन समुदायप्रति देखाएको अलोकतान्त्रिक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज (आईतबार) सम्पन्न महासंघको केन्द्रिय विशेष कार्यसमिति बैठकको निर्णयसँगै प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष सी बि गहतराजले सरकारको व्यवहारले ख्रीष्टियन समुदायको गम्भिर ध्यानाकर्ष भएको बताउनुभयो । महासंघका अध्यक्ष गहतराजले सार्वजनिक विदा दिन विदा पुनरावोलोकन समितिले सिफारिस गरेको र सम्मानित सर्वोच्च अदालतले समेत आदेश दिएको सन्दर्भमा पनि नेपाल सरकारले ख्रीष्टियन समुदायमाथि अलोकतान्त्रिक व्यवहार देखाएको दोहोर्याउनु भयो । महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “महासंघको तर्फबाट ख्रीष्टमस विदाको सन्दर्भमा प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय, शहरी विकास मन्त्रालय लगायत सम्बन्धित निकायमा लिखित ध्यानाकर्षण सहितको ज्ञापन पत्र पेश गर्ने काम भएको र सम्बन्धित निकायबाट विदाको लागि प्रतिवद्धता जनाइसक्दा समेत अन्तिम अवस्थामा विदा ख्रीष्टियन समुदायलाई मात्र सिमित गरिएकोमा महासंघ सरकारको घोर भर्त्सना गर्दछ । ” महासंघले आगामी कार्यदिशा तय गर्दै ख्रीष्टमस र इष्टरको विदा साथै सरकार–महासंघबीच भएको सहमति कार्यान्वयनको माग गर्दै अब राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चरणबद्ध ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । महासंघ अध्यक्ष गहतराजले ७ वटै प्रदेशमा र नेपाल लगायत विभिन्न देशमा रहेका सद्भावदूत मार्फत कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । महासंघकै पहलमा नेपालमा वि.सं. २०६४ देखि २०७२ सालसम्म निरन्तर रुपमा ख्रीष्टियनहरुको महान पर्व ख्रीष्टमसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिदै आएको थियो भने वि.सं. २०७३ सालमा काटिएको विदालाई पुनःसार्वजनिक विदा कायम गरेको थियो । तर, २०७४ र ७५ सँगै यस वर्ष अर्थात २०७६ सालको ख्रीष्टमसमा पनि सार्वजनिक विदा कटौती गरि ख्रीष्टियन समुदायका लागि मात्र विदा सिमित गरेको हुँदा नेपाली ख्रीष्टियन समुदायको भावनामा गहिरो चोट पुगेको महासंघको ठहर छ ।        

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd