धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सम्माननीय उपराष्ट्रपतिज्यूको प्रमुख आतिथ्यतामा ख्रीष्टमस–२०७४ तथा नयाँ वर्ष–२०१८ को उपलक्ष्यमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०७४ पौष १७, काठमाडौं राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा ख्रीष्टमस–२०७४ तथा नयाँ वर्ष–२०१८ को उपलक्ष्यमा उप–राष्ट्रपतिज्यूको कार्यालयको सभाहल, कान्तिपथमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सम्माननीय उप–राष्ट्रपति नन्द बहादुर पुनज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रमको सभापतित्व राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराजज्यूले गर्नुभएको थियो । कार्यक्रममा महिला विभागको समूहले व्याच वितरण तथा फूल गुच्छाले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रममा शुरुको प्रार्थना विलिभर्स इष्टर्न चर्च नेपालका निर्देशक विशप हेमचन्द्र शर्माज्यूले गर्नुभयो । स्वागत गीत तथा ख्रीष्टमसको गीत प्रार्थना विभाग प्रमुख श्रीमती देऊमाया तामाङ्गज्यूको अगुवाईमा प्रस्तुत गरिएको थियो । यसैगरी स्वागत मन्तव्य महासचिव पा. पदमनाथ पराजुलीज्यूले दिनुभएको थियो । ख्रीष्टियन समुदायका तर्फबाट सह–अध्यक्ष डा. फिलेमोन क्षेत्रीज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा महासंघका अध्यक्ष सि.बि. गहतराजज्यूले उप–राष्ट्रपतिज्यूलाई लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षतालाई संस्थागत गर्न एवं धार्मिक तथा साँस्कृतिक मानव अधिकारको सुनिश्चितताको लागि खेल्नुभएको अमूल्य योगदानको उच्च सम्मानका साथ सम्मान–पत्र एवं दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । त्यस्तै गरी श्रीमती सलोमी लेप्चा तिमोथीज्यूलाई विगत ४ दशकदेखि ख्रीष्टियन सांगितीक क्षेत्रमा रहेर ख्रीष्टियन भजन तथा ख्रीष्टियन गीत संगीतमा पु¥याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै महासंघका तर्फबाट उप–राष्ट्रपतिज्यूद्वारा दोसल्ला र कदर–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा उप–राष्ट्रपतिज्यूले ख्रीष्टमस–२०७४ तथा नयाँ वर्ष–२०१८ को उपलक्ष्यमा सम्पूर्ण ख्रीष्टियन समुदाय लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो । यसै क्रममा वहाँले नयाँ वर्ष–२०१८ सँगसँगै संविधानले सबै धर्म, जाति, वर्णलाई समान अधिकार दिएकोले सबैले आफ्नो अनुसार आफ्नो धर्मसंस्कृतिको अभ्यास, अबलम्बन र संरक्षण गर्ने सुनिश्चितता गरेको बताउँदै संविधानको व्यवहारिक कार्यान्वयन सहित धर्मनिरपेक्षताको मूल मर्म अनुसार सम्पूर्ण जाति, धर्म तथा वर्णले आफ्नो हकअधिकारको पूर्ण उपभोग गर्नुका साथै देश आर्थिक एवं सम्वृद्धितर्फ लम्कने विश्वास व्यक्त गर्नुभयो । शुभकामना एवं धन्यवाद ज्ञापनका क्रममा अध्यक्ष सि.बि. गहतराजज्यूले यस अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण ख्रीष्टियन समुदाय लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रमको अन्तिम प्रार्थना नेपाल बाइबल सोसाइटीका महासचिव रेभ. तेज जिरेलज्यूले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव एवं व्यवस्थापन प्रमुख पा. उद्धव चिमोरियाज्यूले गर्नुभएको थियो ।  

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd