धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष कमिटीको बैठक सम्पन्न

१७ बैशाक २०७७। राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष कमिटीको बैठक आज(बुधबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । प्रदेश प्रमुखहरु समेतको उपस्थितिमा बसेको बिशेष कमिटीको बैठकमा पछिल्लो विकसित घटनाक्रम र नेपालका मण्डलीहरुको अवस्थाको बारेमा छलफल भएको छ । विषय प्रवेश गर्दै महासंघका उपमहासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमोरियाले लकडाउनबीच पनि महासंघ परिवार अनलाइन मार्फत नियमित छलफल र प्रार्थनामा रहेको बताउनुभयो ।

प्रवक्ता चिमोरियाले भन्नुभयो, “यो विषम परिस्थितिमा मण्डली भवनहरु बन्द छन्, सेवा संगतीहरु घर परिवारमा सिमित भएका छन् । यद्यपी,महासंघले विभिन्न माध्यमबाट देशभर रहेका मण्डली तथा विश्वासीहरुको अवस्थाबारे जानकारी लिइरहेको छ ।”

विशेष कमिटी बैठकमा वर्तमान अवस्थामा सबै मिलेर मण्डलीका विश्वासीहरुलाई कसरी उत्साह पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भयो । यसका साथै, धर्मप्रचार र अफवाह फैलाएको झुटो आरोपमा पक्राउ पर्नुभएका पोखरास्थित प्रशस्त कटनी मण्डलीका पास्टर केशव आचार्यको रिहाइको पहलबारे छलफल भएको थियो । प्रस्तावित छलफलमाथि सबैले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

महासंघका केन्द्रिय अध्यक्ष सि.वि गहतराजले सबैको धारणालाई सम्बोधन गर्दै भन्नुभयो, “यो विषम परिस्थितमा विश्व स्वास्थ्य संगठन(डब्लु एच ओ) र नेपाल सरकारको निर्देशन पालन गर्नुको विकल्प छैन । महासंघ लकडाउनको अवधीमा पनि अन्य समयमा झैं सक्रिय छ, मण्डली र विश्वासीहरुको अवस्थाबारे जानकारी लिइरहेका छौं । ” अध्यक्ष गहतराजले प्रार्थना नै हाम्रो शक्ति रहेकोले नेपालभर र सद्भावदुतमार्फत विश्वभर प्रार्थनाको अभियान चलाउने बताउनुभयो ।

“महासंघ सरकारको निर्देशनलाई पूर्ण पालना गर्दै सेवा संगति परिवारमा मात्रै सिमित गर्न नेपालभरका मण्डलीहरुलाई आग्रह गर्दछ,” अध्यक्ष गहतराजले भन्नुभयो, “पछिल्लो समय सामाजिक सञ्जालमा सार्वजनिक भएका मण्डलीका गतिविधि र प्रार्थना सम्बन्धि भिडियोले अनावश्यक वादविवाद बढ्दै गएर समस्या सिर्जना भइरहेको छ । सामाजिक सञ्जालमा अपलोड गर्ने विषय वस्तुमाथि पुर्नविचार गर्न र धार्मिक सद्भावमा खलल पुग्ने कुनै कुरा सामाजिक सञ्जालमा नराख्न आग्रह गर्दछु ।” बैठकको सुरुको प्रार्थना महासंघका कर्णाली प्रदेश प्रमुख पास्टर पदम गैरेले गर्नु भएको थियो । सहअध्यक्ष डा. रेभ फिलेमोन खड्का क्षेत्रीले छलफलमा उत्साहको लागि परमेश्वरको इच्छा खोज्नुपर्ने बिषयमा परमेश्वरको वचनबाट प्रचार गर्नु भएको थियो । महासंघले साप्ताहिक संगतिहरुलाई वैकल्पिक रूपमा अनलाईन बाट गर्न पनि सबैमा आह्वान गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd