धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघ रुपन्देहीको “जिल्ला भेला तथा अधिवेशन-२०७५” भव्यताकासाथ सम्पन्न

८ अषाढ २०७५, रुपन्देही। राष्ट्रिय ख्रीष्टियन महासंघ, जिल्ला समिति रुपन्देहीले अध्यक्ष मन पाण्डेको अध्यक्षतामा ” जिल्ला भेला तथा अधिवेशन-२०७५” होटल डल्फिन, सुख्खानगर, बुटवलमा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ५ का प्रमुख पा. टेक विक्रम हिताङज्यू, विशिष्ठ अतिथि केन्द्रीय सदस्य पा. सुरज थापा, तथा पा. रूप घिमिरे, अतिथि छिमेकी जिल्लाबाट उपस्थित हुनुभएका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न नगर तथा ग्रामीण समाजबाट उपस्थित हुनुभएका अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न मण्डलीबाट उपस्थित हुनुभएका विश्वासी दाजूभाइ तथा दिदीबहिनीहरूको गरिमामय उपस्थितिका बीच भव्यताकासाथ हिजो सम्पन्न गरेको छ । पा. बुध्दि बहादुर गुरुङको प्रार्थनाद्वारा शुरू भएको उक्त जिल्ला भेला तथा अधिवेशनको सन्चालन सचिव अशोक शाक्यले गर्नुभएको थियो भने पा. पृथ्वी थापाले स्वागत मन्तव्य दिदै सबैलाई स्वागत गर्नुभएको थियो। लुम्बिनी इसाई समाजका अध्यक्ष पा. बाबुराम बस्नेतले परमेश्वरको वचन बाट आशिषमय वचन बाँड्नुभएको थियो । शुभकामना मन्तव्य दिनेहरूमा अतिथि छिमेकी जिल्ला, नगर तथा गाउँपालिका अध्यक्षज्यूहरू विशिष्ठ अतिथि केन्द्रीय सदस्य पा. सुरज थापा हुनुहुन्थ्यो । उक्त जिल्ला भेला तथा अधिवेशनका प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ५ प्रमुख पा. टेक विक्रम हिताङज्यूले सरकारसँग ३ बुँदे र ६ बुँदे सम्झौता भएको चर्चा गर्दै मण्डली गुठी अन्तर्गत दर्ता हुनुपर्ने, चिहानको व्यवस्था गरिनु पर्ने, ख्रीष्टियनहरूको लागि पनि सरकारी बजेटमा व्यवस्था गरिनु पर्ने कुरा बताउनुभयो । त्यसैगरी विभिन्न समाज तथा संघ-संस्थाहरू तथा राष्ट्रिय ख्रीष्ट्रियन महासंघ बीचको भिन्नताबारे उहाँले स्पष्ट पार्दै ख्रीष्टियनहरूको हक-अधिकारको पक्षमा आवाज उठाउने एकमात्र संस्था “राष्ट्रिय ख्रीष्टियन महासंघ” भएको कुरा बताउनुभयो साथै विभिन्न समयमा मण्डली, पाष्टर तथा विश्वासीहरूमाथि आइपरेको समस्या, सतावट तथा थुनछेक जस्ता अनेकौ घटनाहरू महासंघकै पहलमा समाधान गर्न सफल भएको कुरा जानकारी गराउनुभयो । अन्त्यमा अध्यक्ष पा. मन पाण्डेले जिल्ला समिति रुपन्देहीले आजसम्म गरेको कामको कार्य विवरण बारे जानकारी गराउनुहुँदै सबैलाई धन्यवाद दिनुभयो । यस जिल्ला समितिले आफ्नो तीन वर्षको कार्यकाल पूरा भएको अवसरमा यो जिल्ला समिति विघटन भएको तथा यस “जिल्ला भेला तथा अधिवेशन-२०७५” समापन भएको घोषणा गर्नुभयो । यसको लगतै बन्द-सत्रद्वारा नयाँ कार्य-समितिको चयन पा. सुरज थापाको अध्यक्षतामा पछि बाकी सदस्य थप्ने गरी गठन गरियो, जसमा उपाध्यक्ष द्वय पा. रनबहादुर गुरुङ तथा पा. गोपी हिमडुम, सचिव पा. अशोक शाक्य, सह-सचिव पा. जीवन कौशल, पा. कोषाध्यक्ष ए. कूलबहादुर पुन, सह-कोषाध्यक्ष पा. पृथ्वी थापा, सदस्यहरू ए. बाबुराम परियार, ए. जीवन महर्जन, अजय खत्री तथा वरिष्ठ सल्लाहकारहरूमा प्रदेश प्रमुख पा. टेकबहादुर हिताङ तथा पा. मन पाण्डे हुनुहुन्छ । त्यसैगरी सोही दिन दिदीबहिनी जिल्ला समिति तथा यूवा जिल्ला कार्य समिति पनि गठन गरिएको थियो । यमूना घिमिरेको अध्यक्षतामा गठन भएको दिदीबहिनी जिल्ला समितिमा उपाध्यक्ष गिता गुरुङ, सचिव अन्जु राई, कोषाध्यक्ष ज्योति पौडेल तथा सदस्यहरुमा मधुकला अर्याल, विजुवा कँवर र सावित्री राना हुनुहुन्छ । गोपाल शर्माको अध्यक्षतामा गठन भएको यूवा जिल्ला कार्य समितिमा सचिव डेविड राई, कोषाध्यक्ष सुरज क्षेत्री तथा सदस्यहरूमा राजकुमार अर्याल, कमल कार्की तथा राजेश मौर्य हुनुहुन्छ । उक्त कार्यक्रममा राष्ट्रिय ख्रीष्टियन महासंघमा आवध्द जिल्ला रुपन्देहीका मण्डली (चर्च) हरूलाई अध्यक्ष पा. मन पाण्डेको हातबाट प्रमाण-पत्र प्रदान गरियो तथा राष्ट्रिय ख्रीष्टियन महासंघ, रुपन्देही जिल्ला समितिका सम्पूर्ण पदाधिकारीहरूलाई तीन वर्षसम्म सेवा गर्नुभएकोमा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ५ का प्रमुख पा. टेक विक्रम हिताङज्यूको हातबाट प्रमाण-पत्र प्रदान गरियो।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd