धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघको सप्ताहव्यापी अभियान: रुपन्देही जिल्ला भेला सम्पन्न

१८ माघ,रुपन्देही । राष्ट्रिय ख्रीष्टियन महासंघ,नेपाल जिल्ला समिति रुपन्देहीको आयोजनामा आज(शनिबार) जिल्ला भेला केन्द्रिय अध्यक्ष सि. बि गहतराजज्यूको प्रमुख आतिथ्यतामा रुपन्देहीको भैरहवास्थित भैरहवा गोस्पेल संगति(चर्च)मा सम्पन्न भएको छ ।   कार्यक्रमलाई सम्बोधन गर्दै भेलाका प्रमुख अतिथि तथा केन्द्रिय अध्यक्ष सि.बि गहतराजज्यूले नयाँ संविधानमा ख्रीष्टियन सुझाव समितिको जगमा स्थापित राष्ट्रिय ख्रीष्टियन महासंघले ख्रीष्टियन समुदायलाई स्वाभिमान र अधिकार सम्पन्न बनाउन सरकारसँग निरन्तर लागिपरेको बताउनुभयो । अध्यक्ष गहतराजले वि.स २०६८ र वि.स २०६९ सालमा सरकारसँग क्रमशः गरेको ३ बुँदे र ६ बुँदे सहमतिलाई कार्यान्वयन गर्न सम्पूर्ण ख्रीष्टियन समुदायको प्रार्थना, साथ र सहकार्य जरुरी रहेको बताउनुभयो । महासंघ अब नेपाली मण्डली र संघ संस्थाहरुको सहकार्यमा ख्रीष्टियनहरुको तथ्याङ्क संकलनको अभियानमा जुट्न लागेकाले सबैले साथ दिने बेला आएको समेत बताउनुभयो । सम्बोधनको क्रममा अध्यक्ष गहतराजले नेपाली मण्डलीहरुलाई अधिकारसम्पन्न बनाउन नीतिगत व्यवस्थाको लागि प्रार्थना सहित सरकार, राजनीतिक दल, संवैधानिक अंगहरू र सम्बन्धित सबै निकायहरुमा महासंघको तर्फबाट पहल भइरहेको भन्दै सहकार्यको लागि पुन: सबैलाई आव्हान गर्नुभयो ।   कार्यक्रममा शुभकामना मन्तव्य दिँदै महासंघका उपमहासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमोरियाले राष्ट्रिय ख्रीष्टियन महासंघले नेपाली मण्डलीहरुको सुरक्षाको ग्यारेण्टी महासंघले लिने बताउँदै अब देशमा महासंघ मार्फत ख्रीष्टियन समुदायमा नयाँ काम हुन लागेको बताउनुभयो । शुभकामना मन्तव्य राख्दै महसंघका सह-अध्यक्ष तथा ५ नं प्रदेश प्रमुख पास्टर टेक बहादुर हिताङज्यूले ख्रीष्टियन समुदायको हक अधिकार संरक्षणको लागि राष्ट्रिय ख्रीष्टियन महासंघ निरन्तर सक्रिय रहेको र यो महान अभियानमा साथ दिन सबैमा आग्रह गर्नुभयो । महासंघ र अन्य संघ संस्थाको तुलना हुन नसक्ने बताउँदै सह-अध्यक्ष पास्टर हिताङ्ले सबैको आ-आफ्नै उद्देश्य भएका कारण महासंघले आफ्नो उद्देश्यबाट एक कदम दायाँ बायाँ नगरी परमेश्वरको महिमा हुने काम गरिरहेको बताउनुभयो । यता,प्रमोट नेपालका निर्देशक तथा ज्योति महिमा मण्डलीका पास्टर मनोहर पाठकले शुभकामना मन्तव्य राख्दै सिंगो ख्रीष्टियन समुदायको मुद्धामा सबैजना एक भएर लाग्नुपर्ने बताउनुभयो ।   कार्यक्रममा नवलपरासी जिल्ला अध्यक्ष सुमन दर्लामी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । महासंघका सह-सचिव तथा प्रचार प्रसार विभागका प्रमुख प्रकाश विशुन्केज्यूले शुभकामना मन्तव्यको क्रममा राष्ट्रिय ख्रीष्टियन महासंघको काम, उपलब्धि र प्रयासबारे अवगत गराउनुभयो । आज(शनिबार) आयोजित जिल्ला भेलामा रुपन्देही जिल्लाभरका ४ सय भन्दा बढी पास्टर,अगुवा तथा मण्डली प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई जिल्ला कार्यसमिति रुपन्देहीका सचिव पास्टर अशोक शाक्यले कुशलताका साथ सञ्चालन गर्नुभएको थियो । राष्ट्रिय ख्रीष्टियन महासंघ, रुपन्देहीका सल्लाहकार तथा बेथेल प्रशंसा मण्डलीका पास्टर भरत जी.सीले प्रस्थानको पुस्तक १७ अध्याय को ८ देखि १६ बाट आत्मिक लडाइँको विषयमा परमेश्वरको वचन बाँड्नुभयो । अन्त्यमा, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, रुपन्देही जिल्ला कार्यसमितिका अध्यक्ष सुरज कुमार थापाको धन्यवाद ज्ञापन पश्चात कार्यक्रम समापन भयो ।  

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd