धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रेस विज्ञप्ति विषयः पास्टर केशव आचार्यलाई विनाशर्त रिहाई गर्न माग

उपरोक्त सम्बन्धमा मिति २०७६ साल चैत १० गते सोमबार जिल्ला प्रहरी कार्यालय, कास्कीले जुम्ला स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका–३२ खुदी सुकुमबासी टोल बस्ने पोखरा महानगरपालिका–२९, पावरहाउसस्थित प्रशस्त कटनी मण्डलीका पास्टर केशब आचार्यलाई धर्म प्रचार र अफवाह फैलाएको भनि झुठो आरोपमा पक्राउ परेको खबरले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । कोरोना भाइरस(COVID-19)को संक्रमणले विश्व नै आक्रान्त बनेको समय र नेपाल पनि सोको न्युनिकरणमा लागिपरेको समयमा आ–आफ्नो धर्मको अभ्यास अनुसार प्रार्थना गर्दैगर्दा अफवाह फैलाएको भन्दै झुठा आरोप लगाई पक्राउ गरि सामाजिक तथा धार्मिक सद्भाव विथोल्ने र कानूनी राज्यको उपहास गर्ने काम राज्यबाट भएको हुँदा यस्तो निन्दनीय कार्य यथाशिघ्र रोक्न राष्ट्रिय ख्रीष्टियन महासंघ सम्बन्धित पक्षहरुलाई आग्रह गर्दछ । सामाजिक सञ्जालमा प्रसारित भिडियो सामाग्रीको अध्ययन गर्दा उक्त भिडियोमा दिइएको अभिव्यक्ति पास्टर आचार्यको सम्बन्धित मण्डलीभित्र प्रचार गरेको प्रवचन रहेको प्रस्ट देखिन्छ । सो अभ्यास नेपालको कानुन विपरित नभएको र प्रकाशित समाचारहरुमा आएजस्तो “झुठा, भ्रमपूर्ण अभिब्यक्तिको भिडियो बनाई युट्युव तथा सामाजिक संजालहरुमा समेत अपलोड र शेयर गरी धर्म प्रचार प्रसार समेत गरेको” भन्ने कुरामा कुनै सत्यता नभएको महासंघको ठहर छ । राज्यलाई यो पनि सुचित गराउन चहान्छौं कि ख्रीष्टियन धर्म मात्र नभई नेपालका हरेक धर्ममा आस्था राख्नेहरु यतिबेला नेपालमा यो विपद् र संक्रमण नफैलियोस् भनि प्रार्थना गर्दै ईश्वरलाई आ–आफ्नो प्रकारले पुकारिरहेकाछन् । यि अभ्याससँगै ख्रीष्टियन समुदायले नेपाल देशको शान्ति, उन्नति र विकासको लागि प्रार्थनासहित विभिन्न क्षेत्रमा निस्वार्थ सेवा पुर्याइरहेको समेत महासंघ अवगत गराउन चाहन्छ ।

देशमा धर्मनरपेक्षता संस्थागत भइसकेको र नयाँ संविधानको प्रस्तावनामा नै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी सबै प्रकारका विभेदलाई अन्त्य गर्दै प्रत्येक नागरिकलाई समान हक अधिकार र स्वतन्त्रता प्रदान गरिनेछ भनी संविधानले स्पष्ट व्यवस्था गरिसकेको अवस्थामा राज्यले देशको कानूनलाई सम्मान गर्दै कानूनी राज्यको प्रत्याभूति आम जनतालाई दिलाउन महासंघ हार्दिक अनुरोध गर्दछ । हामी ख्रीष्टियन समुदायहरु सबै धार्मिक समुदाहरुलाई सम्मान गर्दै धार्मिक सद्भाव र एकता चाहन्छौं । हामी कसैको पनि धर्म जवरजस्ती परिवर्तन गर्न चाहदैनौं तर नागरिकले आफ्नो अनुसार धर्म मान्न पाउने, छान्न पाउने र अभ्यास गर्न पाउने अधिकारलाई कसैले पनि बन्देज गर्न हुँदैन ।

तसर्थ, झुठो आरोपमा सोमबार पक्राउ पर्नुभएका प्रशस्त कटनी मण्डलीका पास्टर केशव आचार्यलाई विनाशर्त रिहाई गर्न नेपाल सरकार, राजनीतिक दल, सम्पूर्ण मानवअधिकारकर्मी, कुटनीतिक नियोग, नागरिक समाज, अन्तरधार्मिक समुदाय, पत्रकार मित्रहरु लगायत आम नागरिक समुदायलाई हार्दिक अपिल गर्दछौं ।

   

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd