धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रदेश नं ५ को भेला भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

भाद्र ७, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, प्रदेश नं ५ को भेला (शनिबार) हिजो भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ ।

भेलामा २०७८ सालको जनगणनाको चेतना अभिवृद्धि र नेपाली ख्रीष्टियन समूदायको तत्थ्याङ्क संकलनका विषयमा प्रदेशका सदस्यहरुसँग छलफल भएको हो । भेलाको प्रमुख अतिथि समेत रहनुभएका महासंघका केन्द्रिय अध्यक्ष्न सी.बी. गहतराजले उक्त विषयहरुको बैठकमा सहभागिहरुले राख्नुभएको जिज्ञासा र प्रश्नको जवाफ दिनुभएको थियो । भेलामा राष्ट्रिय ख्रीष्टियन महासंघको संगठन विस्तार र ५ नं प्रदेश भित्रका मण्डलीहरुको वर्तमान अवस्थामा समेत गहन छलफल भएको थियो ।

भेलामा केन्द्रिय सचिव एवं सचिवालय संयोजक पा. प्रेम कार्की, उपमहासचिव पा. धनराज घिमिरे, उपमहासचिव एवम् प्रवक्ता रेभ. पा. उद्घव चिमोरिया र सह अध्यक्ष अधिवक्ता रीता थापामगरले क्रमशः महासंघको परिचय, इतिहास, उपलब्धी, उद्धेश्य, कार्यक्रमहरु र भावी योजनाहरुको विस्तृत जानकारी दिनुभएको थियो । छलफलका क्रममा ५ नं प्रदेशका जिल्ला अध्यक्षहरु, विभिन्न मण्डलीका पाष्टर, अगुवा र कमिटी सदस्यहरुले महासंघको भावी रणनीति र कार्ययोजनाका बारे चासो व्यक्त गर्नुभएको थियो । भेलामा बरिष्ठ सह अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले पवित्र धर्मशास्त्र बाइबलबाट स्थिरता र जिम्मेवारीको विषयमा चूनौतिपूर्ण वचन बाँड्नुभएको थियो ।

उहाँले विभिन्न खण्डबाट भन्नुभयो, स्थिर भएर परमेश्वरको बाटो हेर्नुपर्छ, स्थिर र दृढ भएर खुट्टा बलियोसँग टेक्नुपर्छ, परमेश्वर हामीसँग अघि अघि जानुहुन्छ र हामीले आ–आफ्नो जिम्मेवारीहरुमा निरन्तर लाग्नुपर्छ। भेलाको अध्यक्षता गर्नुभएका महासंघका सह अध्यक्ष तथा प्रदेश–५ प्रमुख पा. टेक विक्रम हिताङ्गले सहभागिहरुलाई धन्यवाद दिनुभई प्रार्थनाद्वारा भेला समापन भएको थियो ।

भेलामा महासंघका केन्द्रिय समितिका पदाधिकारी तथा केन्द्रिय सदस्यहरु साथै प्रदेश नं ५ का विभिन्न जिल्ला अध्यक्ष, सदस्यहरु साथै १ नं प्रदेशका संयोजक रेभ. पा. एनोस गजमेर र पा. दानियल सिगदेलको उपस्थिति रहेको थियो । केन्द्रिय सचिव पा. विष्णु परियारले कार्यक्रम कुशलताका साथ सञ्चालन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd