धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

पाचँ वर्ष जेल सजाय पाएका इसाईहरु थुनामुक्त

६ असोज, २०७४, ललितपुर । सल्यान जिल्ला कारागारबाट लाली पुन एवं दाङ्ग जिल्ला कारागारबाट सुकलाल परियार, गंगा परियार र बिमकली बुढालाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराज, महासचिव पदमनाथ पराजुली, केन्द्रिय सदस्य बल बहादुर ताम्राकार र फ्रिडम फर अल नेपालका सचिव मानवअधिकारकर्मी खगेन्द्र ओलीको रोहवरमा थुनामुक्त गरिएको छ । सल्यान जिल्लाको कुभिण्डे–४, ज्यामिरे स्थित सामुयल मण्डलीका सदस्यहरु सुकलाल परियार, गंगा परियार, लाली पून, बिमकली बुढा र रुपा थापालाई झुठा आरोपमा जिल्ला अदालत, सल्यानले मुद्धा चलाएको थियो । सो मुद्धामा जिल्ला अदालत सल्यानले मिति २०७३ पौष ४ गते रुपा थापालाई ६ महिना थुना पश्चात सफाई दिँदै बाँकी ४ जनालाई ५ वर्षको जेल सजायँ र जनही रु. पचास हजारका दरले जरिवाना तोकेको थियो जुन निकै चर्चा र प्रभावमा रहेको सो घटनाको सत्यतथ्य पत्ता लगाउन महासंघका अध्यक्ष गहतराजको नेतृत्वमा मानव अधिकारकर्मी, अधिकारकर्मी र पत्रकार समेतको प्रतिनिधि मण्डलले कार्य गरेको थियो । सो समितिले तयार गरेको प्रतिवेदनमा उल्लेखित व्यक्तिहरुलाई थुनामुक्त गराउनका लागि महासंघका प्रवक्ता तथा उपमहासचिव सागर बैजुको नेतृत्वमा अधिवक्ता वलराम तिमिल्सिनाबाट मिति २०७३ फागुन ८ गते, उच्च अदालत सुर्खेतमा रिट दायर समेत गरिएको थियो । महासंघले दायर गरेको रिटमा उच्च अदालत, सुर्खेतले मिति २०७४ भाद्र २५ गते उच्च अदालत, सुर्खेतका न्यायाधिसद्वय महेश शर्मा पौडेल र कृष्ण थापाको संयुक्त इजालासले शुरु जिल्ला अदालत, सल्यानको मिति २०७३।०९।०४ गतेको फैसलालाई उल्ट्याउँदै जेलमा बसेको अवधिलाई कटाई बाँकी जेल सजायँबाट निज प्रतिवादीहरुलाई थुनामुक्त गरेको हो । भाद्र २५ गते उच्च अदालत, सुर्खेतले पिडित नागरिकहरुलाई थुनामुक्त गरेकोमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको तर्फबाट उच्च अदालत, सुर्खेतलाई हार्दिक धन्यवाद समेत दिएको छ । थुनामुक्त भएका मानिसहरुको व्यवस्थापन र उनीहरुका बालबालिकाहरुको पालनपोषणको सम्पूर्ण व्यवस्था महासंघले मिलाएको जानकारी गराएको थियो । त्यस मुद्धासँग सम्बन्धित कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने वकिल, मानव अधिकारकर्मी, पत्रकार लगायतका सम्पूर्ण पक्षहरुलाई हार्दिक धन्यवाद समेत दिएको थियो । त्यसैगरी मुद्धा विषयमा निरन्तर प्रार्थना गर्नुहुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मण्डली (चर्च) तथा ख्रीष्टियन संघसंस्थाहरुलाई महासंघको तर्फबाट धन्यवाद व्यक्त गरेको गर्दै ख्रीष्टियन समुदायको वर्तमान अवस्थालाई मध्यनजर गर्दा सम्पूर्ण ख्रीष्टियन समुदाय संगठित र सचेत हुँदै एक भएर अगाडि बढ्न समेत महासंघले हार्दिक अनुरोध गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd