धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

धन्यवाद तथा प्रार्थना कार्यक्रम भव्यताका साथ सम्पन्न

९ असोज २०७४, काठमाण्डौं । धन्यवाद तथा प्रार्थना कार्यक्रम काठमाण्डौँ पुतलीसडकस्थित वेथशालोम चर्चमा भव्यताका साथ सम्पन्न गरेको छ । झुठा मुद्धामा उच्च अदालत सुर्खेतले रुपलाल परियार, गंगा परियार, लाली पुन, बिमकली बुढालाई थुनामुक्त गरेको र रुपा थापालाई सल्यान जिल्ला अदालतबाट सफाई दिएको अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सो कार्यक्रम आयोजना गरेको हो । महासंघका सचिव पा तेज बहादुर रोक्काको कुशल संचालन र सह अध्यक्ष डा. फिलेमोन क्षेत्रीबाट सुरुको प्रार्थना भएको उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष सि.बि. गहतराजज्यूले गर्नुभएको थियो । त्यस्तै अतिथिहरुमा फ्रिडम फर अल नेपालका सचिव, मानवअधिकारकर्मी खगेन्द्र ओली, क्वाइनोनिया पाटन मण्डलीका बरिष्ठ पाष्टर रेभ.डा. मंगलमान मर्हजन, महासंघका अन्र्तराष्ट्रिय सल्लाहकार पा. राजेश तिवारी लगायतका व्यक्तिहरु मञ्चमा हुनुहुन्थ्यो । महासचिव पा. पदमनाथ पराजुलीले अतिथि लगायत सहभागी सबैलाई स्वागत गर्नुभएको थियो भने उप–महासचिव तथा प्रवक्ता सागर बैंजुले विषयवस्तु प्रवेश गर्ने क्रममा महासंघबाट प्रकाशित प्रेस विज्ञप्ती प्रस्तुत गर्नुभएको थियो । उहाँले सोही क्रममा उक्त घटनाको बारेमा महासंघले गरेका काम साथै सो मुद्धालाई महासंघले लिइसकेपछि आएको चुनौतीहरुका बारेमा पनि बताउनु भएको थियो । रेभ.डा. मंगलमान मर्हजनज्यूले उत्सहित वचन बाँड्नु भएको सो कार्यक्रममा थुनामुक्त लाली पुन र रुपलाल परियारले जेलमा विताएका ती पीडाहरु र परमेश्वरले गर्नुभएको आश्चर्यकर्मको बारेमा आ–आफनो गवाही बाँडनुभएको थियो भने मानवअधिकारकर्मी खगेन्द्र आलीले सल्यान जिल्लाको स्थलगत अध्ययनमा आफुले प्राप्त गरेको अनुभवका बारेमा र आउँदो दिनमा पनि सम्पुर्ण ख्रीष्टियन समुदायलाई आफनो तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा भेटी उठाई थुनामुक्त ४ जनालाई सहभागीहरुले आर्थिक तथा भौतिक सहयोग पनि गर्नुभएको थियो भने महासंघका केन्द्रिय सदस्य बल बहादुर ताम्राकारले घटनाको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो । उक्त कार्यक्रमको धन्यवाद तथा समापन अध्यक्ष गहतराजले गर्नुभएको थियो भने अन्तिम प्रार्थना पा. राजेश तिवारीले गर्नुभएको थियो । सो मुद्धामा जिल्ला अदालत सल्यानले मिति २०७३ पौष ४ गते रुपा थापालाइ सफाई दिँदै बाँकी ४ जनालाई ५ वर्षको जेल सजायँ र जनही रु. पचास हजारका दरले जरिवाना तोकेको थियो । निकै चर्चा र प्रभावमा रहेको सो घटनाको सत्यतथ्य पत्ता लगाउन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराजज्यूको नेतृत्वमा मानव अधिकारकर्मी र पत्रकार समेतको प्रतिनिधि मण्डलले कार्य गरेको थियो । सो समितिले तयार गरेको प्रतिवेदनमा उल्लेखित व्यक्तिहरुलाई थुनामुक्त गराउनका लागि महासंघका प्रवक्ता सागर बैंजुको नेतृत्वमा अधिवक्ता बलराम तिमिल्सिनाबाट मिति २०७३ फागुन ८ गते, उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको थियो । महासंघले दायर गरेको रिटमा उच्च अदालत, सुर्खेतले मिति २०७४ भाद्र २५ गते उच्च अदालत, सुर्खेतका न्यायाधिसद्वय महेश शर्मा पौडेल र कृष्ण थापाज्यूको संयुक्त इजालासले शुरु जिल्ला अदालत सल्यानको मिति २०७३।०९।०४ गतेको फैसलालाई उल्ट्याउँदै जेलमा बसेको अवधिलाई कटाई बाँकी जेल सजायबाट थुनामुक्त गरेको हो । सल्यान जिल्ला कारागारबाट लाली पुन एवं दाङ्ग जिल्ला कारागारबाट थुनामुक्त रुपलाल परियार, गंगा परियार र बिमकली बुढालाई महासंघका अध्यक्ष सि.बि. गहतराज, महासचिव पदमनाथ पराजुली, केन्द्रिय सदस्य बल बहादुर ताम्राकार र फ्रिडम फर अल नेपालका सचिव, मानवअधिकारकर्मी खगेन्द्र ओलीज्यूको रोहवरमा थुनामुक्त गरिएको हो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd