धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

तनहुँमा ख्रीष्टियन महासंघको विशेष भेला सम्पन्न

२० माघ २०७६ । गण्डकी प्रदेश राष्ट्रिय ख्रीष्टियन महासंघ र तनहुँ ख्रीष्टियन समाजको संयुक्त आयोजनामा आज(सोमबार) इमानुयल चर्च, दमौलीमा तनहुँ विशेष भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

तनहुँ ख्रीष्टियन समाजका अध्यक्ष पास्टर ओमराज परियारको सभापतित्व र महासंघका केन्द्रीय अध्यक्ष सि. बि गहतराज ज्यूको प्रमुख आतिथ्यता रहेको उक्त विशेष भेलामा वर्तमान समयमा देशमा ख्रीष्टियनहरुको अवस्था र हालसम्मका ख्रीष्टियन समुदायको हितमा भएका उपलब्धि र विविध पक्षमा छलफल भएको छ ।

   

विशेष भेलालाई सम्बोधन गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघका केन्द्रीय अध्यक्ष सि. बि गहतराजज्यूले नेपाल सरकार गुठीको विषयमा अझै अस्पष्ट रहेको सन्दर्भमा महासंघले गुठीभित्र पनि स्वतन्त्र गुठीको व्यवस्था गर्न वृहत तयारी गरिरहेको बताउनुभयो । गुठी र आयोग साथै ख्रीष्टियन मण्डलीको नीतिगत व्यवस्थाको माग महासंघको नौलो कार्यक्रम नभई महासंघ र सरकारवीच २०६९ सालमा भएको ६ बुँदे सहमतिकै विषय भएको अध्यक्ष गहतराजको भनाइ छ ।

   

अध्यक्ष गहतराजले भन्नुभयो, “जब हामीले मण्डलीहरुको नीतिगत व्यवस्था गर्छौं,मण्डलीलाई स्वतन्त्र गुठीको रुपमा परिणत गर्छौं र मण्डलीलाई अधिकार सम्पन्न बनाउँछौं तब नेपाली ख्रीष्टियनहरुको विजय हुन्छ । यो सबै पहल नेपाली ख्रीष्टियनहरुले दिने साथ र सहयोगबाट सम्भव छ ।” अध्यक्ष गहतराजले महासंघको अभियान कुनै प्रोजेक्टमुखी नभई अधिकारमुखी भएको उल्लेख गर्दै महासंघको एउटै मात्र अभियान भनेको नेपाली ख्रीष्टियन समुदायलाई स्वाभिमान र अधिकारसम्पन्न बनाउनु नै रहेको स्पष्ट पार्नुभयो ।

   

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै महासंघका सह-अध्यक्ष तथा ५ नं प्रदेशका प्रमुख पास्टर टेक बिक्रम हिताङज्यूले वर्तमान परिस्थितिलाई बुझेर महासंघले ख्रीष्टियन समुदायको हितमा नयाँ कार्यक्रमहरू लिएर अघि बढिरहेको बताउनुभयो । महासंघको उद्देश्य स्पष्ट रहेको भन्दै सह-अध्यक्ष हिताङज्युले तनहुँ जिल्लाका ख्रीष्टियनहरुले पनि महासंघ र अन्य संघ संस्थाले गर्ने काम र उद्देश्य का आधारमा सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । महासंघ नेपालमा रहेका सम्पूर्ण मण्डली, ख्रीष्टियन संघ संस्थाहरुको अभिभावक बनेर सरकारसँग पुलको काम गरिरहेको सहअध्यक्ष हिताङ्को भनाइ छ ।

   

शुभकामना मन्तव्य राख्दै उपमहासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमोरियाज्यूले ख्रीष्टियन समुदायको हक र अधिकारको सुरक्षाका लागि सरकारसँग निरन्तर संवादमा रहेको जानकारी गराउनुभयो । उपमहासचिव चिमोरियाले सरकारसँग विभिन्न समयमा भएका ३ बुँदे र ६ बुँदे सहमतिले महासंघलाई अघि बढ्न थप बल पुगेकाले तनहुँका मण्डलीहरुको पनि यसमा सहभागिता र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रमका सभापति पास्टर ओमराज परियारले आज आयोजित छलफल कार्यक्रम सार्थक भएको बताउँदै सबै मिलेर ख्रीष्टियन महासंघलाई प्रार्थना सहित साथ दिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष परियारले तनहुँबाट महासंघलाई सम्पूर्ण साथ र सहयोग रहेको जानकारी गराउँदै उपस्थित सबैलाई धन्यवाद दिनुभयो तनहुँ ख्रीष्टियन समाजका सचिव पास्टर के बी आले मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजकी उपाध्यक्ष शारदा भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा तनहुँ ख्रीष्टियन समाजका प्रवक्ता पास्टर हिरा गुरुङले “असल अगुवामा हुनुपर्ने गुण”को विषयमा परमेश्वरको वचन बोल्नुभएको थियो । कार्यक्रममा तनहुँ जिल्लाका विभिन्न मण्डलीका २ सयभन्दा बढी अगुवा,पास्टर तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

       

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd