धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमस महोत्सव –२०७४ सम्बन्धि कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन

३ पुस २०७४, ललितपुर । ख्रीष्टियन समुदायको वर्तमान परिस्थिती र ख्रीष्टमसको कार्यक्रम सम्बन्धि सार्वजनिक गर्न राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सातदोबाटोस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । ख्रीष्टियन समुदायको विभिन्न परिस्थितीहरुलाई मध्यनजर गर्दै साथै ख्रीष्टमस महोत्सव –२०७४ सम्बन्धि कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको हो । महासंघका सचिव तथा ख्रीष्टमस महोत्सव–२०७४ का संयोजक पा. तेज बहादुर रोक्काज्यूले प्रेस विज्ञप्ती मार्फत प्रस्तुत गर्नुभएको छ । ख्रीष्टमसको महान पर्वलाई विश्वभरका ख्रीष्टियनहरुले हर्षोउल्लासका साथ विभिन्न तवरले मनाउँने गरिन्छ । सोही सन्दर्भमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले २०६४ सालदेखि नै ख्रीष्टमसका अवसरमा राष्ट्र प्रमुखको प्रमुख आतिथ्यता एवं अन्य विशिष्ट अतिथिहरुको उपस्थितिमा राष्ट्रिय स्तरको ख्रीष्टमस महोत्सव गर्दै आएको महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले बताउँनुभयो । साथै उहाँले ख्रीष्टमसको सार्वजनिक विदालाई स्थायी रुपमा कायम गराउनको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्रीष्टियन समुदायले निरन्तर प्रार्थना गरिएको र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्थानिय तहमा पुग्नुभएका नेताज्यूलाई जिल्ला जिल्लाबाट ख्रीष्टियन समुदायको तर्फबाट ध्यानकर्षण विज्ञप्ती प्रस्तुत गर्दै सार्वजनिक विदा कायम गराउन जनदबाब दिइएकोले यसै क्रममा नेपाल सरकारद्धारा २०७४/८/१४ गते हामी ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमस २०७४ को शुभ अवसरमा २०७४ पौष १० गते डिसेम्बर २५ सोमबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा गरिने घोषणा गरेको समेत सबै पत्रकारज्यूहरुलाई जानकारी गराउनुभएको थियो ।  सोही सिलसिलामा यस वर्षको ख्रीष्टमसको अवसरमा पनि महासंघको महिला विभागद्धारा आगामी पौष ५ गते बेथसालोम चर्च पुतलीसडकमा विशेष कार्यक्रम, पौष ८ गते अन्र्तधार्मिक विभागद्धारा शुभकामना आदानप्रदान कार्यक्रम, पौष ९ गते यूवा विभागको नेतृत्वमा ख्रीष्टमस मोटरसाइकल -याली र पौष १० गते केन्द्रीय कमिटिको आयोजनामा राष्ट्रिय सभागृहमा शुभकामना आदानप्रदान एवं ख्रीष्टमस महोत्सव–२०७४ लगायत महासंघका प्रदेश, जिल्ला एवं क्षेत्रिय स्तरमा समेत ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रमहरु आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । साथै ख्रीष्टमसका अवसरमा देशभरि नै मण्डली (चर्च) एवं ख्रीष्टियन संघसंस्थाहरुद्धारा ख्रीष्टमस सम्बन्धि विविध कार्यक्रमहरु आयोजना गरिएको हुँदा ती कार्यक्रमहरु हर्षोउल्लासका साथ सफल बनाउँनुहुन प्रार्थनासहित सहभागिताको लागि महासंघले आव्हान समेत गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd