धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ख्रीष्टमस महोत्सव–२०७४ भव्यताका साथ सम्पन्न

१० पुस २०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्धारा काठमाडौंस्थ्ति राष्ट्रिय सभा गृहमा आयोजित ख्रीष्टमस महोत्सव–२०७४ विशेष शुभकामना आदनप्रदान समारोह भव्यताका साथ सम्पन्न भएको छ । महासंघका सह–अध्यक्ष रेभ. शामूएल सोदेम्बाज्यूले सुरुको प्रार्थना र सचिव तथा ख्रीष्टमस महोत्सव–२०७४ का संयोजक पा. तेज बहादुर रोक्काज्यूले कार्यक्रमको कुशल संचालन गर्नुभएको सो समारोहमा अध्यक्ष सी.वी. गहतराजज्यूको सभापतित्व र सम्मानीय पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालज्यूले प्रमुख आतिथ्यता ग्रहण गर्दै पानसमा दीप प्रज्वलन गरेर समारोहको समुद्घाटन गर्नुभएको हो । राष्ट्रिय गान प्रस्तुत गरी समारोहको शुभारम्भ भएको सो कार्यक्रममा विशेष अतिथिहरुमा रक्षामन्त्री माननीय भिमसेन दास प्रधानज्यू पूर्व शिक्षा तथा संस्कृति मन्त्री एवं नेकपा एमालेका नेता माननीय गंगालाल तुलाधरज्यू, पूूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा माओवादी केन्द्रका प्रवक्ता नेतृ मा. पम्फा भुसालज्यू, नेपाली कांग्रेसका नेता रामहरी खतिवडाज्यू, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य माननीय सुदिप पाठकज्यू, वरिष्ठ मानवअधिकारवादी नेता दमननाथ ढुंगानाज्यू विभिन्न धर्मका धार्मिक गुरुहरु, अन्तर धार्मिकका अभियान्ताज्यूहरु, मानवअधिकारकमीज्यूहरु, पत्रकारज्यूहरु, महासंघका पदाधिकारीज्यूहरु लगायतका विभिन्न मण्डलीबाट तथा संघसंस्थाबाट व्यापक उपस्थिती रहेको थियो । समारोहमा आमन्त्रीत प्रमुख अतिथिज्यूहरु, विशेष अतिथिज्यूहरु, अतिथिज्यूलाई महिला विभागको समुहले व्याच तथा फूलगुच्छाले स्वागत गर्नुभएको थियो भने महासचिव पा. पदमनाथ पराजुलीज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । ख्रीष्टमस महोत्सव–२०७४ समारोहमा ख्रीष्टमस सम्बन्धि स्वागत गित तथा नृत्य प्रस्तुत गरिएको थियो साथै ख्रीष्टमसको आशिषमय प्रवचन तथा सन्देश महासंघका सह–अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीज्यूले दिनुभएको थियो । समारोहमा प्रमुख अतिथिज्यूबाट पत्रकारको तर्फबाट प्रकाश विशुन्केज्यू र लामो समय देखि ख्रीष्टियन मिडियामा क्रियाशिल र नेपाली ख्रीष्टियन समुदायको हक अस्तित्व र पहिचानको पक्षमा कलम चलाएवापत मिडिया प्रकाशनबाट वचन मिडिया ग्रुपका प्रकाशक रामहरी थापा (विश्वास)ज्यू र युवा दर्शन पत्रिकाबाट दिनेश श्रेष्ठज्यूलाई सम्मानीय पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालज्यूको बाहुलीबाट कदर पत्र वितरण र रक्षामन्त्री मा. भिमसेन दास प्रधानज्यूले दोसल्ला ओढाई कदर गर्नुभएको थियो । साथै नेपाल सरकारका रक्षा मन्त्री माननीय भिमसेन दास प्रधानज्यूलाई समेत समारोहमा सम्मानीय पूर्व प्रधानमन्त्री माधव कुमार नेपालज्यूबाट सम्मान पत्र वितरण र महासंघका अध्यक्ष गहतराजज्यूबाट दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । समारोहमा महासंघको तर्फबाट उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजुज्यूले प्रधानमन्त्रीज्यूले ख्रीष्टमसको शुभअवसरमा पठाउनुभएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो । समारोहमा आमन्त्रीत प्रमुख अतिथिज्यू र विशेष अतिथिज्यूहरुले ख्रीष्टमस २०७४ को शुभअवसरमा सम्पुर्ण ख्रीष्टियन समुदायलाई बधाई तथा शुभकामना दिनुभएको थियो । समारोहको अन्तमा कार्यक्रमका सभापति महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूबाट उपस्थित सम्पुर्णलाई धन्यवाद तथा ख्रीष्टिमसको अवसरमा शुभकामना दिर्दै समारोहको समापन भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd