धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय विशेष कार्यकारी समितिको बैठक सम्पन्न

   

पौष १३, २०७६ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय विशेष कार्यकारी समितिको बैठक आज (आईतबार) सम्पन्न भएको छ । महासंघको केन्द्रिय कार्यालय सातदोबाटोमा सम्पन्न बैठकले ख्रीष्टियनहरुको तथ्याङ्क संकलन सम्बन्धमा सबै मण्डली तथा संघसंस्था साथै विभिन्न सम्प्रदायहरुसँग सहकार्य गरेर महासंघको नेतृत्वमा तत्काल त्यसलाई अगाडी बढाउनको लागि मुल कमिटीको संयोजकमा उपमहासचिव पा.धनराज घिमिरेलाई जिम्मेवारी दिइएको छ । उपमहासचिव घिमिरेको नेतृत्वमा सहअध्यक्ष रिता थापा मगर र सदस्य सचिव पा.कर्णलाल पाण्डे रहने गरी मूल कमिटी गठन भएको हो । त्यसैगरी समन्वयको लागि डा.फिलेमोन खड्का क्षेत्री, उपमहासचिव एवम् प्रवक्ता रेभ.उद्धव चिमोरिया र सचिव प्रेम कार्कीलाई जिम्मेवारी दिइने निर्णय गरेको छ । संकलित तथ्याङ्कको विवरण र कागजातको सम्पादन कार्य सम्पन्न गराउनको लागि संयोजकको रुपमा प्रचार प्रसार विभाग प्रमुख प्रकाश विशुन्केलाई जिम्मेवारी दिने समेत बैठकले निर्णय गरेको छ ।

    बैठकले महासंघका उपमहासचिव धनराज घिमिरेले कार्यकारी निर्देशकको पदबाट दिनुभएको राजीनामा सर्वसम्मतीले स्विकृत गर्दै घिमिरेलाई तथ्याङ्क संकलनको लागि पाउनुभएको जिम्मेवारीमा प्रार्थना सहित डटेर लाग्न महासंघ नेतृत्वले आग्रह गरेको छ । यसैबीच आजको बैठकले ख्रीष्टमस २०७६ को पूर्व सन्ध्यामा आयोजित खेलकुद विभागको म्याराथन दौड, युवा विभागको मोटरसाइकल र्‍याली, महिला विभागको शुभकामना आदान प्रदान कार्यक्रम साथै पुष ९ को विशेष ख्रीष्टमस महोत्सव २०७६ भव्य रुपमा सम्पन्न भएकोमा सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिदै, कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन लगायतका विशिष्ट अतिथि लगायत कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनुहुने र स्वदेश तथा विदेशमा रही प्रार्थनाद्धारा साथ दिनुभएकोमा सम्पुर्णलाई धन्यवाद दिएर धन्यवाद प्रस्ताव पारित गरेको छ । बैठकमा सुरुको प्रार्थना सहअध्यक्ष पा. तेजमान तामाङले गर्नुभएको थियो भने सञ्चालन सचिव पा. प्रेम कार्कीले र आराधनाको अगुवाइ पा. करण सिलवाले गर्नुभएको थियो । यस्तै, बैठकमा गैर—आवासीय तथा प्रवासी समन्वय विभागका सचिव तथा हङकङ काउन्सीलका रेभ.पा. राजु बाराइलीले वचनबाट उत्साह दिनुभएको थियो । महासंघका अध्यक्ष सि बि गहतराजले महासंघको आगामी कार्यदिशा स्पष्ट रहेकाले सबैलाई प्रभावकारी ढंगले जिम्मेवारी निभाउन निर्देशन दिँदै बैठक समापनको घोषणा गर्नुभयो ।

         

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd