धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय तथ्याङ्क विभागको सचेतना कार्यक्रम सम्पन्न

१४ मङ्सिर २०७७, ललितपुर ! राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा आयोजित तथा नेपाल सरकारका आधिकारिक निकाय केन्द्रिय तथ्याङ्क विभागको सहजिकरणमा “मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८” भन्ने मुल नारा रहेको “राष्ट्रिय जनगणना २०७८” सचेतना भर्टुअल कार्यक्रम (तालिम) जुम एप मार्फत आज सम्पन्न भएको छ ।

केन्द्रिय तथ्याङ्क विभागका जनसंख्या शाखाका निर्देशक श्री ढुण्डीराज लामिछानेले सहजिकरण गर्नु भएको कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ सम्बन्धि तयारी, सञ्चालन, विधि, नागरिक तथा संघसंस्थाको दायित्व र कर्तब्य लगायत प्रयोग गरिने सामाग्रीहरुका बारेमा सहभागिहरुलाई प्रष्ट पारिएको थियो । कार्यक्रममा प्रश्न उत्तरको समयमा सहभागिहरुले उठाउनु भएका महत्वपूर्ण प्रश्नहरुको उत्तर पनि निर्देशक लामिछानेले दिनुभएको थियो ।

कार्यक्रमलाई महासंघका वरिष्ठ सह-अध्यक्ष रेभ.डा.फिलेमोन खड्का क्षेत्रीले अध्यक्षता गर्नुभएको थियो भने महासंघका उपमहासचिव तथा तथ्याङ्क परियोजनाका प्रमुख पा.धनराज घिमिरेले कुशलताका साथ सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका सहजकर्ता तथा सबै सहभागिहरुलाई महासंघका सहअध्यक्ष तथा लुम्बिनी प्रदेशका प्रमुख पा.टेक विक्रम हिताङ्गले स्वागतका साथै शुरुको प्रार्थना गर्नुभएको थियो ।

कार्यक्रममा महासंघका केन्द्रिय समितिका १९ जना र प्रदेशका पदाधिकारी तथा जिल्ला प्रमुखहरु ३४ जना गरी जम्मा ३० वटा जिल्लाका ५३ जनाले सहभागिता जनाउनुभएको थियो । यस कार्यक्रम (तालिम) पश्चात महासंघले लिएको लक्ष्यनुसार नेपाल सरकारले गर्ने राष्ट्रिय जनगणना २०७८ सम्बन्धमा तथा नेपाली ख्रीष्टियन समुदायका कोही पनि व्यक्ति नछुट्नुभएको होस् र घरघरमा आउने गणकहरुको अघि कसैले पनि आफ्नो विश्वास प्रकट गर्न नहिच्काएको होस् तथा ढुक्क भएर आगामी राष्ट्रिय जनगणना २०७८ मा सक्रिय सहभागि हुनुभएको होस् भनेर महासंघले देशव्यापी रुपमा सचेतना अभियान गर्ने जानकारी उपमहासचिव तथा तथ्याङ्क परियोजना प्रमुख पा.धनराज घिमिरेले बताउनु भयो ।

त्यसरी उहाँले थप भन्नु भयो “आज सम्पन्न भएको यस कार्यक्रम महासंघ र केन्द्रिय तथ्याङ्क विभाग बीच सम्बन्ध विस्तारको दोश्रो खुट्किलो भएकोले आगामी दिनमा केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक तथा त्यहाका उच्च अधिकारीहरुले महासंघले देशव्यापि रुपमा गर्ने नेपाली ख्रीष्टियन समुदायको सर्वेक्षणका सम्बन्धमा आवश्यक सरसल्लाहका साथै प्राविधिक सहयोग गर्ने प्रतिवद्धता भएनुसार यस प्रकारको कार्यक्रम गर्दै जाने लक्ष्य दुवै पक्षको रहेको छ ।”

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले केन्द्रिय तथ्याङ्क विभागको पूणर् सहयोग (प्राविधिक), समर्थन तथा सरसल्लाहमा नेपाली ख्रीष्टियन समुदायको ऐतिहासिक तथा पूणर् सर्वेक्षण गर्नेभएकोले देश विदेशमा रहनुभएका सबै नेपाली भाषी मण्डली, ख्रीष्टियन दाजुभाई तथा दिदीबहिनीहरुलाई कुनै भ्रममा नपरी यस ऐतिहासिक अभियानमा महासंघलाई प्रार्थना, साथ र सहयोगका साथै सहभागि हुनका लागि उपमहासचिव घिमिलेले सबै पक्षलाई अनुरोध गर्नुभयो । त्यसै गरी नेपाली भाषी मण्डली तथा ख्रीष्टियनहरुलाई स्वाभिमान तथा अधिकार सम्पन्न गराउने महासंघको दृढ संकल्प रहेको र महासंघले गर्ने नेपाली ख्रीष्टियन समुदायको ऐतिहासक तथा पूणर् सर्वेक्षणले नेपाली ख्रीष्टियन समुदायको हक तथा अधिकार सुनिश्चित गराउनका लागि एक कोसेढुङ्गा सावित हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष रेभ.डा.फिलेमोन क्षेत्रीले सबैलाई धन्यवाद ज्ञापन गर्दै मण्डली समन्वय विभागका प्रमुख पा.सोनाम काबोको अन्तिम प्रार्थनाद्वारा कार्यक्रम समापन भएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd