हङकङ नेपाली ख्रीष्टियन काउन्सिलका सल्लाहकार पा. राजु बराइली तथा उहाँको श्रीमती गीता बराइलीलाई महासंघको तर्फबाट स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
१४, असार, २०७४ । १९९४ देखि हङकङमा रहदै आउनुभएका हङकङ नेपाली ख्रीष्टियन काउन्सिलका सल्लाहकार पा. राजु बराइली तथा उहाँको श्रीमती गीता बराइलीलाई आज राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको तर्फबाट स्वागत तथा सम्मान कार्यक्रम आफनो केन्द्रिय कार्यालयमा सम्पन्न गरेको छ ।
महासंघका प्रवक्ता एवंम उपमहासचिव पा. सागर बैजुले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सुरुको प्रार्थना भने उपाध्यक्ष रेभ. काजीरत्न मर्हजनले गर्नुभएको हो । कार्यक्रममा महासंघका अध्यक्ष सि.वि. गहतराजले महासंघको स्थापनाको बारेमा छोटो जानकारी साथै आगामी दिनमा काउन्सिलसँग कसरी सहकार्य गरी एकअर्कामा समन्वयकारी भुमिका र भावनाको विकास गर्न सकिन्छ भन्ने बारेमा बताउनुभएको थियो । सो कार्यक्रममा महासंघका अध्यक्ष तथा पदाधिकारीहरुले खादा लगाएर काउन्सिलका सल्लाहकार पा. राजु बराइली तथा उहाँको श्रीमती गीता बराइलीलाई स्वागत तथा सम्मान गरिएको थियो ।
पा. बराइलीले सम्मान पश्चात महासंघसँग कसरी आत्मिय सम्बन्ध स्थापना गरी आगामी दिनहरुमा हातेमालो गरेर सामाजिक कार्यमा सहयोग गर्ने भन्ने बारेमा आफनो व्यक्तिगत घारणा मन्तव्यको क्रममा राख्नुभएको थियो भने कार्यक्रमको अन्तिममा महासंघका सह–अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीले उहाँको यात्रा, सेवकाईको सफलता र अन्तिम प्रार्थना गर्नुभएको थियो ।